काठमाडौं, माघ २९ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा नयाँ कीर्तिमानी बनाएका छन्। उनी एकदिवसिय क्रिकेटमा नेपालका लागि एकै इनिङ्समा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन्।
उनले अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए।
एकदिवसिय क्रिकेटमा यसअघि यो कीर्तिमान नेपालका पेश बलर सोमपाल कामीको नाममा थियो। उनले युनाइटेड अरब इमिरेट्सविरुद्ध शृङ्खलामा एकै खेलमा ५ विकेट लिँदै नयाँ कीर्तिमान बनाएका थिए।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिका ३५ रनमा अल आउट भएको थियो। जसमा लामिछानेले ६ विकेट लिँदा सुशान भारीले ४ विकेट लिएका थिए।