नवलपरासी, माघ २९ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ। उनको टाउको र खुट्टामा चोट लागेको छ।
त्यसैगरी ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
मंगलबार साँझ लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा परेको हो। कच्ची सडकमा अचानक अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।