चितवन, माघ २९ । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ। मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको हो।
यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए। उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्याइएको थियो।
अचेत अवस्थामा अस्पताल पुर्याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्। वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन। चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए। उनको आज देवघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ। रासस