चितवन, माघ २९ । ‘सेन्टीभाइरस’ ९ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो। फिल्मको प्रदर्शन मिति एकसाता बाँकी रहदा निर्माण युनिटले फिल्मका लागि ‘पार्टी जिताइदे’ बोलको नयाँ गीत छायाँकन गरेको छ।
निर्माण युनिटले फिल्मको प्रमोसनल गीतको रुपमा मंगलबार उक्त गीत छायाँकन गरेको हो। गीत चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भित्र छायाँकन गरिएको छ। गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुञ्जाउँदै छायाँकन गरिएको गीत हो।
गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायतले अभिनय गरेका छन्। गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका थिए। गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टीबीच भएको झगडा देखाउन खोजिएको छ।
शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (भुर्मुस), कुञ्जना, सन्दीप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ।
फिल्ममा शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ।
२ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन्। फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो।