काठमाडौं, माघ २९ । काँग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने एजेण्डा पनि छ।
गत पुस ११ मा बसेको केन्द्रीय समिति बैठकले संस्थापन इतर पक्षको उपस्थिति वेगर क्रियाशील सदस्यतासम्बन्धी विधान दफाका चलाएको थियो।
उक्त निर्णय आजको बैठकले सच्याउने भएको छ। पार्टीको संशोधन विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसीमाभित्र अधिवेशन गराउन कानुनी असहजता देखिएपछि उक्त बैठकले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोगमार्फत उक्त दफासहित अन्य केही दफाहरु पनि निलम्बन गरेको थियो।
विधानको धारा ५० (६) मा रहेको क्रियाशील सदस्यले भोट हाल्न पाउने अधिकारसम्बन्धी प्रावधानमा ‘६ महिना अगावै र ‘छ महिना’ भन्नेमा सभापति शेरबहादुर देउवाले ६ महिना अगावैको बाटो रोजेका थिए।
उक्त निर्णय सच्याइने भएको छ। तर तल्लो तहको अधिवेशन महाधिवेशन हुनुभन्दा एक वर्षअगाडि हुने पर्ने प्रावधानमाथिको लिनम्बन भने यथावत रहेन छ। यस्तै क्रियाशील सदस्यतासम्बन्धी छानबिन समिति गठनको तयारी छ। जसको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भइरहेको छ।
यद्यपि उनी अस्वस्थ रहेकाले अन्यलाई जिम्मेवारी दिने कि भन्ने विषयमा छलफल भइरेको छ। तर, आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग राखेको छ।
यता आचार्यले पनि आफूलाई जिम्मेवारी दिइए आफैले टिम बनाउन पानुपर्ने सर्त राखेका छन्।
तर सभापति शेरबहादुर देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई समावेश गरिने सहमति भएको छ।
तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ।
समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको थियो। यसअघि पनि १३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो।