काठमाडौं, माघ २९ । नेपाली बजारमा प्याजको मूल्य घटेको छ। कुनै बेला बजारमा प्याजको प्रतिकिलो मूल्य २ सय ५० हाराहारीमा रहेको थियो। तर बजारमा प्याजको मूल्यमा ह्वात्तै कमी आई प्रतिकेजी १ सय रुपैयाँ भन्दा तल झरेको व्यवसायीहरुले बताएका छन्।
कालिमाटी तरकारी तथा फलफूल बजारका अनुसार बजारका अनुसार साताको शुरु बाट प्याज ९० रुपैयाँदेखि १ सय रुपैयाँसम्म कारोवार भइरहेको छ। साथै प्याजको तरकारी बजारमा प्याजको थोक मूल्य ७२ रुपैयाँदेखी ७५ रुपैयाँसम्म रहेको जनाएको छ।
धेरै वस्तुहरुमा नेपाली बजार भारतीय बजारमा निर्भर रहने गर्दछ। तथ्यांकअनुसार नेपालमा उपभोग गरिने लगभग ९० प्रतिशत हाराहारीमा प्याज भारतबाट आयात गर्ने गरिएको छ।
तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको थियो। भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो, तर प्याजको मूल्यमा भने कुनै परिवर्तन आएको थिएन।
बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमि आएको व्यावसायीहरुले बताएका छन्। साथै भारतीय बजारबाट पनि प्याजको आयातमा केही मात्रामा सहज आयात हुन थालेकाले पनि प्याजको मूल्यमा कमि आएको हो।