काठमाडौं, फागुन १ । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएपछि बिहीबार नेकपाले दोस्रो पटक ‘जनयुद्ध दिवस’ मनायो। दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने भनेर प्रचार गरेपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने सहभागी भएका छैनन्।
कार्यक्रममा जनयुद्ध र जनआन्दोलनका सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्। कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू भने सहभागी थिए।
तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको सम्झनामा हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आएको छ।