काठमाडौं, फागुन २ । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले हराएको हो।
खेलको ३० औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो। राजेशले डिबक्सको नजिकैबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो। उसका विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए।
पहिलो हाफको ईन्जुरी समयमा शेर्पाले गोल गर्दै अग्रता बनाउन सफल रह्यो। त्रिदेव गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै शेर्पालाई अग्रता दिलाए।
दोस्रो हाफमा थप गोल नभएपछि शेर्पा विजयी बनेको हो।
शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लियो। एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो।