काठमाडौं, फागुन २ । भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनल खेल आज (शुक्रबार) हुँदैछ।
बैंगलोरमा हुने फाइनलमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेला र क्रिप्सा एफसीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल दिउँसो सवाँ २ बजे सुरु हुनेछ।
दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्। दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन्।
सेमिफाइनलमा गोकुलमले साविक विजेता तथा नेपाली टिमका मिडफिल्डर अनिता बस्नेत रहेको सेथुलाई ३-० ले पराजित गरेको थियो। सेथु सावित्राको पूर्व क्लब समेत हो। गत सिजन सेथुले उपाधि जित्दा सावित्रा मुख्य खेलाडी रहेकी थिइन्।
यस सिजन पनि सावित्रा गोकुलमको मुख्य खेलाडी हुन्। उनले यस सिजन १५ गोल गरेकी छिन्। सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा सावित्रा रहेकी छिन्।
यस्तै पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्री एफसीलाई ३-१ ले हराएको थियो।