काठमाडौं, फागुन २ । शुक्रवारदेखि सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ। पछिल्लो समय चर्चामा रहेको यो फिल्म प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आएको हो।
फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापाको शीर्ष भूमिका रहेको छ। प्रेमकथामा आधारित यो फिल्मको बुधवार राजधानीमा प्रिमियर समेत गरिएको थियो। प्रिमियरमा कलाकारले मन पराएको प्रतिक्रिया दिएका थिए।
सुशील र रुबिनाको जोडी बाँधिएको प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई देखाइएको छ। फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन्। फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन्।
यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ।