काठमाण्डौं, फागुन २ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेकाछन्। क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो।
सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेकाछन्। सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरे। उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पुर्य।एको बताए।
विसं २०२६ मा जन्मनुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आएका थिए। विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। काँग्रेसको बाह्रौँ र तेह्रौँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए। विसं २०७४ मा उनी काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए। रासस