काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन्।
सरकारले विभिन्न क्षेत्रमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम तथ्यांकले बोल्ने बताए।
स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा भूकम्पपछिको पुनर्निर्माणमा सरकारले प्रशंसनीय काम गरेको दाबी ओलीको छ। ६६ प्रतिशत नेपालीले इन्टरनेट सेवा उपभोग गरिरहेका बताउँदै ओलीेले भने, सबै जिल्लामा फोरजी सेवा विस्तार गरिएको छ। जबकि, सबै जिल्लामा फोरजी पुग्नु असम्भव ठानिएको थियो।
विपद् व्यवस्थापनका क्षेत्रमा पनि सरकारले उल्लेखीय प्रगति गरेको उनले बताए। सामाजिक सुरक्षाका हिसाबले आफू नेतृत्वको सरकारले नागरिकलाई सबैभन्दा बढी सुरक्षित र राहत महसुस गराएको ओलीको दाबी छ।