काठमाडौँ, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले संवैधानिक अंगले विधिपूर्वक गर्ने काममा सरकार सहयोगी हुने बताए।
ललिता निवास जग्गा प्रकरणलाई बालुवाटारकाण्डको नाम दिँदै आफ्नै नाम मुछेर भइरहेका चर्चाबारे जानकार रहेको प्रधानमन्त्रीले सुनाए।
बालुवाटारकाण्डको छानबिन थालेपछि उत्पन्न प्रतिक्रियाहरुलाई प्रधानमन्त्रीले एक चिनियाँ लोककथासँग तुलना गरे।
‘बालुवाटारस्थित १३६ रोपनी सरकारी जग्गा बेचिएकोबारे मैले नै छानबिन समिति बनाए। प्रधानमन्त्री निवासकै छेउमा भएका कारण प्रधानमन्त्रीले नै बेचेर खाए जस्तो गरी बालुवाटार काण्डलाई प्रचार प्रसार गरेर म विरुद्ध आक्रमणको कारण बनाइयो। छानबिनको पहल गर्ने मलाई नै कैफियत छ कि जस्तो गरेर प्रचार गरियो। यस्तो सुनेर मलाई चिनियाँ लोककथा ड्रयागनको याद आयो’, प्रधानमन्त्रीले भने।
‘एक चिनियाँ युवकलाई ड्रयागन धेरै मन पर्ने। उनले कोठामा भित्तामा सबैतिर ड्रयागनकै तस्बिर राखे। ती युवकको भक्तिभाव र प्रेम देखेर एक दिन ड्रयागन प्रकट भयो। विचरा भाग्यो रे मलाई त्यस्तै जस्तो लाग्छ। जब आउन थाल्यो समस्या बेग्लै देखिन थाल्यो। सरकारले यो प्ररकणमा अध्ययन समिति बनायो। उक्त समितिले प्रतिवेदनले दियो। अनुसन्धानमा पठायो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्यो र मुद्दा चलायो। विधिपूर्वक गरिने काममा सरकार सहयोगी हुन्छ नै। देखिएका र सुनिएका प्रतिक्रिया ड्रयागन जस्तै भयो। एउटा गीत छ खेदाउनेले दाग देखायो किन रुवाबासी ? मेरो भनाई यत्ति छ भद्रगोल हटाउनुपर्छ। प्रणाली ध्वस्त हुन नदिनेमा म सपष्ट पार्न चाहन्छु।’