विराटनगर, फागुन ३ । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिबार मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००१ प १६०८ नं को मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा दुई जनाको मत्यु तथा एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ।
तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन्।
घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना गर्ने चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस