काठमाण्डौ, फागुन ३ । गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ। गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो। तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन्।
शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरिन्। तस्विरमा एक बालकले हातमा खरीपाटी बोकेका छन् र त्यसमा लेखिएको छ, ‘सेभ द डेट २०२० फेब्रअरी २७ (नेपाली मिति २०७६ साल फागुन १५ गते)।’ तस्विरको पृष्ठभूमिमा प्रियंका र आयुष्मान एकअर्कालाई चुम्बन गर्दै देखिएका छन्।
दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए। तर, परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो। असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन्। तर, हालै आफ्ना साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यही फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो।
प्रियंका र आयुष्मानको प्रेम फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट अंकुराएको थियो। यो फिल्ममा उनीहरुले पहिलो पटक सँगै काम गरेका थिए। तर, स्क्रिन साझेदार भने गर्न पाएका थिएनन्। विवाहभन्दा अगाडि नै प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनिसकेका छन्। अहिले उनीहरु घर सेटअपमा व्यस्त छन्। विवाहपछि उनीहरु छुट्टै बस्ने तयारीमा छन्।