काठमाडौँ, फागुन ३ । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन नेपाली जहाज शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेको छ। दिउँसो पौँने ३ बजे नै प्रस्थान गर्ने भनिए पनि झण्डै सवा घण्टा ढिलो गरी उक्त विमान त्रिभुवन विमानस्थलबाट वुहानका लागि उडेको हो।
चीनमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई उक्त विमानमार्फत शनिबार राति नै स्वदेश ल्याउने सरकारको तयारी छ।
विद्यार्थीहरुको उद्धारका लागि ४ जना स्वास्थ्यकर्मी, ३ जना पाइलट, ७ जना क्रु मेम्बर, १ जना इन्जिनियर, १ जना प्राविधिक र १ जना डिस्पास्चर गरी १७ जनाको टोली चीन प्रस्थान गरेको छ।
नेपालबाट चीन जाने टोलीमा कमाण्डर पाइलट यावर कमल, पाइलट महोमद आरिफ, कोपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका २ जना प्राविधिक इन्जिनियर, एक जना डिस्पाचर, एक जना लोडमास्टर र चार जना नेपाली सेनाका डाक्टर रहेका छन्।
चीनबाट फर्केको विमान विमानस्थलमा अवतरण गरेपछि सिधै हेलिकोप्टर पार्किङ वेको रिमोट पार्किङस्थमा लगिने छ र उद्धार गरेर ल्याइएका विद्यार्थीहरुलाई कसैसँग भेट्न नदिई भक्तपुरको खरिपाटीस्थित क्वारेण्टाइनमा पुर्याइनेछ।
१४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनीहरुको दैनिक स्वास्थ्य परीक्षण गरिने छ।