सिमकोट, फागुन ४ । जडिबुटीको अपार सम्भावना भएको हिमाली जिल्ला हुम्लाबाट झण्डै ६७ हजार किलो जटामासी निकासी भएको छ। नयाँ वातावरणीय प्रभाब मुल्याङ्कन भएपछि जिल्लामा भएको जटामासी निकासीको बाटो खुल्दा ठूलो परिमाणमा निकासी भएको हो।
अहिलेसम् सिमकोट विमान स्थलबाट हवाई जहाजमा ढुवानी गरेर साढे ६६ हजार केजी अर्थात ६ सय ६५ क्वीन्टल जटामासी निकासी भएको जडिबुटी संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताए।
यो जटामासीको निकासी परिमाण विगत तीन वर्षयता कै बढी हो। गत वर्ष संकलन भएको जटामासी निकासी हुन सकेको थिएन।
सिमकोट विमानस्थलमा दैनिक जसो नीजि एयरलाईन्सहरुले जटामासी नेपालगंज ढुवानी गरिरहेका छन्। यो जटामासी १५ जना जडिबुटी व्यापारीहरुको रहेको छ। चार वर्षदेखि जटामासी निकासी गर्न नपाएपछि जडिबुटी ब्यापारीहरु मर्कामा परेका बेला यस वर्ष दुई लाख बीस हजार केजी जटामासी लिन पाउने कोटा निर्धारण भएको हो।
नयाँ वातावरणीय प्रभाव मुल्याङ्कन अनुसार चार लाख बीस हजार केजी राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरेर निकासी गर्न सकिने प्राबधान रहेको छ।