फागुन ४। रत्ननगर नगरपालिका वडा नं १४ लाई यही फागुन ६ गते बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ। स्थानीय शासन कार्यक्रमले निर्धारण गरेका ३९ वटा सुचक पुरा गरी वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो।
वडालाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्नको लागि वडा कार्यालयले विद्यालय बाहिर रहेका ५२ जना बालबालिकालाई व्यवस्थापन गरेको छ। स्थानीय नबदुर्गा इट्टा उद्योगमा कामगर्ने मजदुरका ५२ जना बालबालिका मध्य ४ बर्ष भन्दा माथिका २४ जना बालबालिकालाई द्धारिकादास मा.वि मा भर्ना गरिएको छ भने ४ बर्ष भन्दा मुनिका २८ जना बालबालिकालाई बाल विकास केन्द्र स्थापना गरी पढाउन सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। वडा कार्यालयले विद्यालय,टोल विकास संस्था र वडा स्तरीय गरी २४ वटा बाल क्लव गठन गरेको छ।
वडा भित्र बाल उद्यान,बालबालिकाको जन्मदर्ता, बाल विवाह अन्त्य र बालबालिकालाई अनिवार्य विद्यालय भर्ना लगायतका कामहरु पुरा गरेको छ। सुचक अनुसार सबै प्रक्रिया पुरा गरी वडालाई बालश्रम तथा वालमैत्री वडा घोषणा गर्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताए। बालमैत्री वडा घोषणाको दिगोपनाको लागि बालबालिका केन्द्रित तीन वर्षे रणनीतिक योजना समेत तयार गरिएको छ।
उद्घाटनको दिन विहान जनजागृती मा.वि बाट शोभायात्रा निश्किने छ भने पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडालाई बालमैत्री तथा बालश्रम मुक्त घोषणा गर्ने छन्।