जनकपुरधाम, फागुन ४ । विवादकाबीच सप्तरीको बोदे बर्साइन नगरपालिकामा मुस्लिम धर्माम्बलीहरुको सभा सुरु भएको छ। बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारमा शनिवारदेखि तीनदिने धार्मिक सभा सुरु भएको मुस्लिम आयोगका अध्यक्ष समिम मिँयाले जानकारी दिए।
नेपाल र भारतका मुस्लिमहरुलाई मात्रै सभामा बोलाउने भनिए पनि अन्य मुलुकबाट पनि सहभागीहरुलाई बोलाइएपछि गृह मन्त्रालयले सभालाई रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो।
तर पछि अन्य देशका मुस्लिम सहभागीहरुलाई फिर्ता पठाउने भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निदेर्शनमा सभालाई सञ्चालन गर्न अनुमति दिइएको अध्यक्ष मिँयाले जानकारी दिए।
धार्मिकसभामा नेपाल र भारतसहित पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो। नेपाल र भारतबाहेक अन्य देशका मुस्लिम सहभागीहरुलाई फिर्ता पठाएपछि तीन दिवसीय धार्मिक सभा सुरु भएको हो।
मुस्लिम धर्माम्बलीको धार्मिकसभामा प्रवचनको कार्यक्रम छ। यसका लागि भारतको राजधानी दिल्लीबाट जमात विश्वका अध्यक्ष हजरत मौलाना साद साहेब आएका छन्। उनी नै मुख्य प्रवचनकर्ता हुन्। उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सभामा सहभागी छन्।
सुरक्षाको लागि सभास्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन्।




