काठमाडौँ, फागुन ४ । चीनमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएकोमा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई धन्यवाद दिएका छन्।
‘कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरी ल्याउने कार्यमा संलग्न नेपाल सरकार, सम्बन्धित सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
चीनको हुबेइ प्रान्तको वुहानसहितका शहरबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ। विद्युत प्राधिकरणको भवनमा चीनबाट ल्याइएका १७५ जना नेपालीलाई राख्नका लागि क्वारेन्टाइन सेन्टर बनाइएको हो।
उद्धार गरेर ल्याइएका सबै नेपालीको स्वास्थ्य, सुरक्षा, हेरचाह लगायत आवश्यक सम्पूर्ण व्यवस्थापनका लागि सरकारको प्रयासमा सबैको सहयोग आवश्यक रहेको र आफूहरु सरकारको साथमा रहेको पनि नेता थापाले उल्लेख गरेका छन्।