फागुन ४ । सामान्यतया हामी गास, बास र कपासलाई अनिवार्य आवश्यकताको रुपमा मान्ने गर्छाैं। तर, यही आवश्यकतालाई महत्वाकांक्षाले घेरेपछि भने समाज बिस्तारै रवाफिलो बन्न थाल्छ। अनि हामीहरु देखाउनकै लागि भएपनि महंगा कपडाहरु लगाउन थाल्छौं।
पछिल्लो समय काठमाडौं र उपत्यका बाहिरका समेत ठूला ठूला बजारहरुमा नयाँ फेसनको कपडामा लाखौं खर्च गर्नेहरुको जमात बढ्न थालेको छ। विभिन्न स्थानका टेलरिङ सेन्टरका सञ्चालकहरुका अनुसार कुनैपनि कार्यक्रम वा सम्मेलनमा जाँदा सबैभन्दा पहिले कपडाको चर्चा गर्ने परिपाटीका कारण पनि महंगा कपडाहरु किन्ने होड बढ्न थालेको हो। अहिले तीब्र रुपमा महिलाहरुको कपडा सिलाउने टेलरहरु बढ्न थालेको देखिन्छ।
अहिले काठमाडौंमा दुईतीन हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको कपडा सिलाउने टेलरिङ सेन्टरहरु रहेका छन्। पछिल्लो समय यस्ता ब्राण्डेड र फेसन अनुसारको कपडा किन्नेहरुको संख्या झनै बढ्न थालेपछि यो क्षेत्रमा धेरैको आकर्षण बढ्न थालेको टेलर सञ्चालकहरुको छाता संगठन नेपाल कपडा व्यापारी तथा टेलरिङ्ग संघले जनाएको छ।
संघका अनुसार फेसन र कपडाको सौखिनहरुमा पुरुषभन्दा महिलाहरु तीनचार गुणा बढी हुने गर्छन्। विशेषगरी कूल महिला सेवाग्राहीहरु मध्ये २० देखि ३० प्रतिशत महिलाहरुले वर्षेनी महंगा कपडाहरु लगाउने गर्छन्। यसमध्ये उच्च आर्थिक स्थिति भएकाहरुले नियमित रुपमा ४० हजारभन्दा धेरै पर्ने लेहेंगा लयायतका कपडाहरु खरिद गर्ने गरेको संघले जनाएको छ। मध्यम वर्गीय महिलाहरुले पनि यस्तो महंगा कपडाहरु किन्ने गर्छन्। तर, उनीहरु नियमितभन्दा पनि विशेष समारोहको अवसरमा यस्ता कपडाहरु खरिद गर्ने गरेको संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार अहिले बजारमा आएका धेरै महंगा कपडाको ब्राण्डहरुमा सिफोन, जर्जेट, रसिद आदि रहेका छन्। यस्ता कपडाहरु उच्च पदस्थ व्यक्तिको परिवार र धेरै फेसनेवल मानिसहरुले लगाउने गर्छन्।
अहिले बजारमा रहेका मध्ये रेमण्ड, डिग्जाम, जग्जियो गुलामी, इटालियन जस्ता महंगो ब्राण्डका सुटका पनि धेरै बिक्री हुने गर्छ। त्यस्तै, टेरियोल ब्राण्डको कपडा उच्च पदस्थ व्यक्तिहरुले धेरै मनपराउने गरेका छन्। त्यो भन्दा अलिक सस्तो पर्ने टिआरएएल ब्राण्डको कपडाहरु मध्यम वर्गीय व्यक्तिहरुले लगाउने गर्छन्।
त्यस्तै, अहिले उच्च पदस्थ व्यक्तिहरुले धेरै अल्लोको कोट लगाउने गरेका छन्। यसको बजार मूल्य अहिले १० हजारको हाराहारीमा छ। विशेषगरी पूर्वमा संखुवासभा, भोजपुर, पाँचथर आदि जिल्लाबाट पाइने अल्लोलाई प्रशोधन गरेर यस्तो कपडा बनाइन्छ।
महिलाहरुको फेसन सर्पको काँचुलीजस्तो फेरिरहने
जसरी सर्पले समय समयमा आफ्नो काँचुली फेर्छ। त्यसैगरी नेपालमा पनि महिलाहरुको फेसनले छिटो छिटो परिवर्तन भोग्ने गरेको संघले जनाएको छ। सामान्यतया पुरुषहरुले वर्षको २ पटक नयाँ कपडा सिलाउने गर्छन्। संघ अन्तर्गत्का टेलरहरुमा आउने ग्राहकको आधारमा कुरा गर्दा महिलाहरुले भने एक वर्षमा ८ पटकसम्म नयाँ कपडा किन्ने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन्।
श्रेष्ठका अनुसार अहिले सामान्यतया १५ हजार रुपैयाँदेखि ५० हजारसम्मको एउटै कपडा बजारमा पाइन्छ। सुट सेटको मूल्य त त्योभन्दा पनि धेरैको छ। ‘कपडामा आकर्षण धेरै छ। त्यसमा पनि महिलाहरुमा झनै धेरै रहेको देखिन्छ।’ श्रेष्ठ भन्छन् ‘फेसनको हिसाबले पनि पुरुषहरु सामान्यतया फेसन रहित सामान्य कपडा लगाउन इच्छा राख्छन्। तर, महिलाहरुको फेसन भने दुईदेखि तीन महिनाको बीचमा परिवर्तन हुने गरेको छ।’
भारतीय टेलिसिरियल हेरेर नयाँ फेसनको सुरुवात
उनका अनुसार भारतीय टेलिसिरियल वा फिल्मबाट नेपालमा धेरै कपडाको फेसनहरु परिवर्तन हुनेगर्छ। कतिपयले त मोबाइलमा फोटो ल्याएर वा कतिपयले ब्राण्डको नामबाट पनि नयाँ फेसनको कपडा सिलाउन दिनेगरेको संघ बताउँछ। नेपालमा कपडाको धेरै प्रभाव भारतबाट नै पर्ने गरेको उनको बुझाई छ। यसबाहेक विदेशबाट आयात हुने तयारी पोषाकको कारण पनि नयाँ फेसन स्थापित हुने उनीहरुको बुझाई छ।
तयारी कपडाको आयात बढ्दै
नेपालमा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा भारतबाट मात्रै ४ अर्ब ६ करोड रुपैयाँको तयारी पोषाक आयात भयो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको यही समयमा नेपालमा ३ अर्ब ८६ करोड रुपैयाँको तयारी पोषाक आयात भएको थियो।
यही समयमा चीनबाट ४४ करोड ७८ लाखको तयारी पोषाक आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ। अघिल्लो वर्ष यही समयमा चीनबाट ५६ करोड रुपैयाँको तयारी पोषाक आयात भएको थियो।
माथि उल्लेख गरिएको तथ्यांक औपचारिक तबरवाट नेपाल भित्रिएको तयारी कपडाको तथ्यांक हो। यसबाहेक पनि धेरै कपडाहरु अनौपचारिक तवरबाट पनि भित्र आउने गरेको छ। त्यो सहित तथ्यांक जोड्दा यसको तथ्यांक झनै भयावह हुने गर्छ।