काठमाडौं, फागुन ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताइन्।
काठमाडौं महानगरपालिका ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। मन्त्री अर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषलाई मनाउने दुषित मनसायले आँखा लगाउने कुरा सह्य नहुने बताइन्।
अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने पनि बताइन्।
उनले डिल्लीबजार मालतपोत कार्यालयअन्तर्गत रहेका सरकारी जग्गा एकीन भइसकेको बताइन्। मन्त्री अर्यालले उपत्यकाका अन्य ४ वटा वडाहरूमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको बताइन्। उनले लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय रहेका व्यक्तिले फाइदा उठाएको बताइन्।
मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कूल ५ हजार ३ सय ४७.५१ वर्ग किलोमिटर अतिक्रमित जग्गामा सरकारी बोर्ड राखिएको हो। मन्त्री अर्यालले आफैँले उक्त जग्गामा सरकारी बोर्ड गाडेकी थिइन्।




