काठमाडौं, फागुन ४ । कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताए।
उनीहरुको थ्रोट स्वाब (र्याल) को नमूना परीक्षणका लागि पठाइएको जानकारी चीन स्थित नेपाली दूतावासले दिएको दाहालले जानकारी दिए।
‘चीनमा कोरोनाको आशंका गरिएका चार जनाको नमूना संकलन गरि परीक्षण गर्न पठाइएको छ। उनीहरुलाई पहिला रहेकै स्थानमा सुरक्षित रुपमा पुर्याइएको छ’दाहालले भने, ‘दूतावासले नै उहाहरूलाई उहाँको बस्ने ठाउसम्म सुरक्षित तरिकाले पुर्याएको छ।’
दाहालका अनुसार चीनमा चार जनामाथि कोरोनाको आशंका गरिएको बताए। कोरोनाको आशंका गरिएका एक जनाका पत्नी र छोराछोरी पनि नआएको उनको भनाइ छ।
सरकारले चीनमा रहेका नेपालीको उद्धारका लागि शनिवार विमान उहान पठाएका थियो। उहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जनालाई अहिले खरिपाटिस्थित क्वारेन्टाइनमा राखिएको छ।