फागुन ५ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा चार गोल गर्यो। खेलको ५४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए।
खेलको ५७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए। खेलको ९० औं मिनेटमा मोसिट ओजिलले गोल गर्दा आर्सनल ३-० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सजेन्डर लाकाजेट्सले गोल गर्दै आर्सनललाई ४-० को फराकिलो जित दिलाए।
जितसँगै आर्सनलले २६ खेलबाट ३४ अंक जोडेको छ। आर्सनल लिगको दशौँ स्थानमा रहेको छ। न्युकासल ३१ अंक जोडेको १३ औं स्थानमा रहेको छ।