फागुन ५ । साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा एफसी कोल्नलाई ४-१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो।
कोल्नको मैदानमा रोबर्टो लेवान्डोस्कीले तेस्रो मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। पाँचौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दा वायर्न २-० ले अघि रह्यो।
खेलको १२ औं मिनेटमा सेर्गी गान्ब्रीले गोल गर्दै वायर्नलाई ३-० को अग्रता दिलाए। ६६ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्न ४-० ले अघि रह्यो। त्यसपछि खेलको ७० औं मिनेटमा घरेलु टोलीका मार्कले एक गोल फर्काएपनि वायर्न ४-१ ले विजयी भयो।
जितसँगै वायर्नले २२ खेलबाट ४६ अंक जोडेको छ। र, वायर्न आरबी लिपजेइगलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। पराजित कोल्न २३ अंक जोडेर १७ औं स्थानमा रहेको छ। एजेन्सी ।