काठमाडौँ, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउँदा केही व्यक्तिलाई पीर परेको बताएका छन्।
काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वकांक्षी परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘नेकपाको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिँदा केही व्यक्तिहरुमा पिर देखिएको छ’ उनले भने, ‘सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएकाले विरोधिहरुलाई त्यस्तो भएको हो।’
सरकारले धेरै राम्रा काम गरिरहँदा पनि मिडियाका समाचारमा बाँसुरी बजाएको मात्रै आउने गरेको भन्दै उनले व्यंग्ये प्रहार गरे। विकास सबैको साझा नारा र कर्तव्य भएको उनले बताए।
देशभर तुइन विस्थापनको काम अगाडि बढेको अवस्थामा एकाध स्थानका तुइन देखाएर सरकारको आलोचना गरिएको उनले बताए। अहिले दार्चुलामा मात्रै दुईवटा तुइन बाँकी रहेको प्रधानमन्त्रीको दाबी छ। सरकार सुशासन र विकास निर्माणको पक्षमा कटिबद्ध रहेको बताए।
प्रधानमन्त्री ओलीले विद्युतीय तार भूमिगत बनाउने परियोजनाको उद्घाटन गरेपछि अब शहर कुरुप नरहने बताए। विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उनको भनाइ छ।
परियोजना सम्पन्न भएपछि गुजुल्टिएका तार नभएपछि शहरको सौदर्यदामा वृद्धि हुने बताए।