काठमाडौं, फागुन ५ । सेयर बजारमा सोमबार उच्च वृद्धि हुन पुगेको छ। बजार परिसुचक नेप्सेमा ३४ अंकको वृद्धिसँगै एक हजार ३९८ अंक पार गरेको छ भने कारोबारमा दुई अर्ब ६४ करोड रुपियाँको रेकर्ड कायम भएको छ। यति धेरै कारोबार संभवत पहिलो पटक भएको हो।
सोमवार विशेषगरी बाणिज्य बैंक, व्यापार र जलविद्युत समूहले नेप्सेलाई उचालेको हो। आइतबार १९ अंकले बढेको नेप्से आज झण्डै दोब्बरले बढेको छ । सेयर बजारमा सुधार आउन थालेसँगै बजारमा किनबेच पनि ह्वात्तै बढेर गएको छ।
कुल १७५ वटा कम्पनीको सेयर किनबेच भएकोमा घाटा खाने कम्पनीको संख्या ३६ वटा रहेका छन्। सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ५८ प्रतिशतले बढेको छ भने व्यापार समूहको सुचक चार दशमलव ९८ प्रतिशतले बढेको छ।
त्यस्तै, जलविद्युत समूहको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ। निर्जीवन बीमा समूहको सुचकको वृद्धि पनि तीन प्रतिशत नजिक छ । आज धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट अगाडि रहेको छ। उसको १२ करोड ९४ लाख रुपियाँको कारोबार छ भने दोस्रोमा शिखर इन्स्योरेन्सको ११ करोड भन्दा बढि कारोबार छ।
सोमवार पनि राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक सेयर उच्च रकमले बढेका छन्। उक्त कम्पनीको साधारण सेयर ९८९ रुपियाँले बढेको छ भने संस्थापक सेयर ८२८ रुपियाँले बढेको छ। प्रतिशतका हिसावमा बढि नाफा गर्नेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता अगाडि छन्।
त्यस्तै, घाटा धेरै खानेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि छन्।