काठमाडौं, फागुन ५। थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग परेको हो।
प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।
नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्नेछ। यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ।
शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ।
राष्ट्रिय क्रिकेट टिममा भुवन कार्कीले पुनरागमन गरेका छन्। भुवन सन् २०१५ पछि पहिलो पटक टिममा परेका हुन्। भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन-२ खेलेका थिए।
यस्तै किशोर महतो पहिलो पटक टिममा परेका छन्। नियमित सदस्य रोहित कुमार पौडेल टिमबाहिर रहेका छन्।
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन्।