चितवन, फागुन, ५ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं १ महादेबटारमा यही फागुन २१ गते प्रथम परेवाकोट पर्यटन महोत्सव हुने भएको छ। परेवाकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले परेवाश्वरी सामुदायिक वन,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रा.लि.ले सयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो।
महोत्सवमा चेपाङको खाना गिठ्ठाको मम, सिस्नुको परिकार, युवा बैज्ञानिक सरोज प्रजाले आविस्कार गरेको कार तथा प्यारामोटरहरुको प्रर्दशनी, परेवाकोटमा जीप सफारी, घोडा शयर र सेल्फी खिच्ने व्यवस्था मिलाइएको महोत्सव मुल समारोह समितिको संयोजक सानुबाबु बर्तौलाले जानकारी दिए।
आयोजक लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबोले भ्रमण बर्ष, राप्तीको पर्यटन, आर्थिक, सामाजिक विकास गर्ने तथा राप्ती नगर भित्रका पर्यटकीय स्थलहरु परेवाकोट, कामिनचुली, नागदह, भास्मणि तालको प्रर्बधन गर्ने उदेश्यले महोत्सवको प्रथम संस्करण गर्न लागिएको बताए।
महोत्सवमा ५० लाख खर्च लाग्ने र एक लाख दर्शकले अबलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ। पत्रकार सम्मेलनका प्रमुख अतिथि राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले महोत्सवले राप्ती नगर भित्रका पर्यटकीय स्थलहरुको प्रर्बधन गर्ने भन्दै महोत्सवलाई नगरपालिकाले सहयोग गर्ने बताए।
वडा नं १ का वडाध्यक्ष सिद्धिलाल स्याङतानले परेवाकोटको विकासको लागि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण सुरु भएको बताए।