चितवन, फागुन ५ । मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि भन्दै फागुन १८ देखि २४ गतेसम्म मेघौलीको हात्तीपोलो मैदानमा पाँचौं मेघौली पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ।
महोत्सवमा विशेष गरी वाइल्डलाइफ अर्थात् वन्यजन्तुको जीवनसम्बन्धी पक्षमा सम्बन्धित रहने आयोजकले जनाएको छ। जैविक दृष्टिकोणले महत्त्वपूर्ण मानिने मेघौली क्षेत्रमा गैंडाका लागि आवश्यक पर्ने खाना र आहालहरू प्रशस्तै मात्रामा रहेको महोत्सवका मूल समारोह समिति संयोजक हरिचन्द्र महतोले बताए।
जिल्लाका विभिन्न क्षेत्रमा रहेका होटलहरूले पर्यटकलाई गैंडा देखाउन मेघौली ल्याउने गरेको उनको भनाइ थियो। मेघौलीमा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसैलाई सहयोगी भूमिका खेल्ने गरी महोत्सव आयोजना गरिएको उनले जानकारी दिए।
महोत्सवमा जंगल सफारी, गोलाघाटको सूर्यास्त दृश्यावलोकन, स्थानीय जातिको परिकारहरूको प्रदर्शनी, खेलकूद कार्यक्रम र हस्तकला तथा स्थानीय कृषि उत्पादनको प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ। वन्यजन्तुका बारेमा जानकारी प्रदान गर्न विशेष वृत्तचित्र पनि प्रदर्शन गर्न लागिएको महतोले बताए। त्यसका साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहने छ।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सम्बोधन गरेका महानायक राजेश हमाल पनि महोत्सवमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई बाग्मती प्रदेश सरकारको समेत सहयोग रहेको छ। बाग्मती प्रदेशका सांसद कृष्ण प्रसाद भुर्तेलले प्रदेशमा रहेका १० महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको सूचीमा मेघौलीलाई पनि समेटिएको बताए। मेघौली क्षेत्रमा विभिन्न जातजातिको पहिचान झल्काउने खालका संग्रहालय बनिसकेका बताउँदै सांसद भुर्तेलले बहुजातीय संग्रहालय बनाउने उद्देश्य पनि रहेको जानकारी दिए।
प्रदेश सरकारले मात्रै त्यसका लागि १ करोड रुपैयाँ सहयोग गर्ने उनले बताए। सम्भावना भइकन पनि मेघौलीमा पर्याप्त मात्रामा होटल व्यवसायहरू नखोलिनु दुःखद रहेको उनले जिकिर गरे । त्यस्तै, मेघौलीमा रहेको विमानस्थल गौचरण बन्दै गएको प्रति पनि उनले निराशा व्यक्त गरे। विमानस्थलको धावनमार्ग मात्रै पीच गर्ने हो भने पनि पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो।
मेघौली क्षेत्रमा होमस्टेहरू सञ्चालनमा रहे पनि मध्यम खालका होटलहरूको सुरुवात गर्न अत्यावश्यक रहेको उनले औंल्याए। मेघौली क्षेत्रको पर्यटकीय विकासका लागि भरतपुर महानगरपालिका वडा नं २८ कार्यालयले आ.व. २०७६÷७७ मा विनियोजित बजेटबाट समेत केही रकम छुट्याएको बताएको छ।
पचास हजारदेखि एक लाखको संख्यामा अवलोकनकर्ता आउने अनुमान गरिएको महोत्सवमा टिकट दर भने ५० रुपैयाँ रहेको छ। विद्यार्थी प्रवेश शुल्क भने ३० रुपैयाँ रहेको छ।
पहिलो संस्करणको मेघौली महोत्सव २०५७ सालमा आयोजना गरिएको थियो। त्यसपछि २०६०, २०६२ र २०६६ सालमा सो महोत्सवको आयोजना गरिएको थियो। पाँचौं संस्करणको मेघौली महोत्सव करिब १० वर्षपछि आयोजना हुन लागेको हो।