काठमाडौँ, फागुन ६ । देशको कार्यपालिकाको प्रमुख रहेर शासन सत्ता सञ्चालन गरिसकेका व्यक्ति आफ्नो अभिव्यक्तिबाट रातारात पछि हटेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई आफ्नो टिप्पणीमा अडिग रहन सकेनन्। समाजवादी पार्टीका नेता भट्टराईले बलात्कार प्रयासको अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका आफ्ना पूर्व सहयात्री (माओवादीमा हुँदा) कृष्णबहादुर महराबारे सोमबार बेलुका सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।
उनको टिप्पणी गैरजिम्मेवार भन्दै विभिन्न क्षेत्रबाट लगत्तै आलोचना सुरु भएको थियो। आलोचनाको सामना गरेका भट्टराईले महराबारेको ट्वीट डिलिट गरेका छन्।
प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहिसकेको व्यक्तिले सोमबार महराले बलात्कार प्रयासको अभियोगबाट सफाइ पाएको सम्बन्धमा बिबिसी नेपाली सेवाको समाचार सेयर गर्दै हिन्दी वाक्यांशमा ‘निम्छरो’ व्यंग्य गरेका थिए। उनले महरालाई सफाइ दिने अदालतको फैसलालाई हिन्दी उद्धरण ‘मियाँ बिबी राजी तो क्या करेगा काजी’ सँग तुलना गरेका हुन्।
यसरी व्यंग्य गर्न हतारिएका पूर्वप्रधानमन्त्री भट्टराई सो पोस्ट हटाउन पनि हतारिए। उनले रातारात सो ट्वीट डिलिट गरेका छन्।
गएको अशोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि तत्कालीन सभामुख महराले राजीनामा दिएका थिए। तर उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतले सफाइ दियो।
त्यसपछि डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेका थिए, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरुप नै फैसला आएछ ! शायद सत्य त्यही हो ! मियाँ बिबी राजी तो क्या करेगा काजी जो भनिन्छ ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ ! जे हुनु भैगयो ! अब बृहद सामाजिक–राष्ट्रिय मुद्दामा केन्द्रित होऔँ !