काठमाडौँ, फागुन ६ । ‘काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन्।
महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो।
सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत काम गर्ने गर्दथे।
दावा भने पछिल्लो समय नेपाल बाहिर छन्। भारतको सिक्किम र दार्जिलिङ लगायत क्षेत्रमा लुकेर बस्दै आएका दावाले पछिल्लो समय सत्यमानलाई परिचालन गरेर काठमाडौंमो आफ्नो गतिविधि सक्रिय पार्दै आएका थिए।
सत्यमान लामा यसअघि पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए। पछिल्लो समय २०७६ असारमा पनि लामा पक्राउ परेका थिए। त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नवीना लामाले छुटाएकी थिइन्।
सोमबार भने मदिरा पिएर प्रहरीसँग विवाद गरेपछि लामा पक्राउ परेका हुन्। सोमबार बेलुकी लाजिम्पाटको सांग्रिला होटेलमा मदिरा सेवन गरेका लामाले प्रहरीसँग विवाद गरेका थिए।