स्याङ्जा, फागुन ७ । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ।
उनीहरुले ग १ ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो। पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो। यस क्रममा अलि द्वयलाई जिपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए। चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ।
चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए। रासस