दाङ, फागुन ७ । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार प्रेमनाथ योगीको गाडीमा आगजनी गरिएको हो।
तुलसीपुर उपमहानगरपालिका १९ हाडिमेस्थित अध्यक्षका उम्मेदवारकै घर अगाडी पार्किङ गरेर राखिएको गाडीमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
बा १९ च १७६४ नम्बरको स्कारपियो गाडीमा राति १२ बजेतिर आगजनी गरेका हुन्। आगजनी कसले गर्यो भन्ने बिषयमा पहिचान हुन सकेको छैन। आगजनीबाट गाडीको पछाडिको टायरमा क्षति भएको छ।
नगर अध्यक्ष खुशीराम चौधरी र सचिव माधव वलीले जारी गरेको विज्ञप्तीमा यस घटनामा दोषीलाई कारबाही माग गरिएको छ।
उद्योग वाणिज्य संघको निर्वाचन भोली बिहीबार हुन लागेको छ।