काठमाडौं, फागुन ७ । चीनले बुधबार अमेरिकाको चर्चित अखबार वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई ५ दिनभित्र चीन छाड्न आदेश दिएको छ।
सो अखबारले छापेको एउटा लेखको शीर्षक वेइजिङलाई आपत्तिजनक लागेको तर त्यसप्रति सो पत्रिकाले सार्वजनिकरुपमा माफी नमागेका कारण पत्रकारलाई देश निकालाको घोषणा गरेको अर्को अमेरिकी अखबार दि वासिंगटन पोष्टले जनाएको छ।
सो लेखको शीर्षकलाई वेइजिङले जातीय विभेद दर्शाउने र चिनियाँ जनतालाई आपत्ती हुने भाषा प्रयोग गरेको भन्दै विरोध जनाएको थियो।
वाल स्ट्रिट जर्नलका अनुसार त्यहाँको व्युरोका उपप्रमुख जोस चिन र संवाददाता चाव देङ र अर्का संवाददाता फिलिप वेनलाई ५ दिनभित्र चीन छाड्न आदेश दिइएको हो। चिन र देङ अमेरिकी नागरिक हुन् भने वेन अष्ट्रेलियन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार गत फेब्रुअरी ३ मा जर्नलले प्रोफेसर वाल्टर रसेल मिदको लेख छापेयता चीनको विदेश मन्त्रालयले पटकपटक आपत्ती जनाउँदै आएको थियो।
अहिले चीनको इन्टरनेटसेवा ग्रेट फायरवालले जर्नलको वेवसाइटलाई ‘ब्लक’ गरेका कारण चीनमा पढ्न पनि पाँइदैन।
‘वाल स्ट्रिट जर्नलले उसले गरेको गल्तिको गम्भिरता स्वीकार गरोस्, एउटा आधिकारिक क्षमायाचना गरोस् र त्यसमा संलग्न व्यक्तिलाई त्यसप्रति जवाफदेही बनाओस् भन्ने चीनको माग हो,’ चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बुधबार पत्रकारहरुसँग भने।
यसअघि अगस्त महिनामा पनि चीनले जर्नलकै संवाददाता चुन ह्यान वङलाई देश निष्कासन गरेको थियो।