चितवन, फागुन ८ । करदाताको समस्या सम्बोधन गर्न र राजस्व संकलन प्रभावकारी बनाउन चितवनको भरतपुर महानगरपालिकाले अभियानकै रुपमा घर घरमै राजस्व संकलन टोली परिचालन गर्ने भएको छ।
बहालकर, व्यवसायकर तथा रजिट्रेशन शुल्क समेत गरी ८० करोड आन्तरीक आम्दानी गर्ने लक्ष्य राखेको महानगरले उक्त लक्ष्य हासिल गर्न महानगरले टोली परिचालन गर्ने भएको हो।
भरतपुरले चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ३९ करोड संकलन गरिसकेको छ।
केही दिनभित्र तीनवटा वडाबाट शुरु गरिने अभियानमा बक्यौता रकम संकलन तथा यस आर्थिक वर्षमा कर नतिरेका करदाताबाट राजश्व संकलन र व्यवसायीका समस्या तथा गुनासो टिपेर समाधानको पहल गर्ने महानगरका लेखा अधिकृत जगन्नाथ अर्यालले बताए।
अभियानका रुपमा परिचालित हुने टोली एक महिना भित्रमा सबै वडामा पुग्ने छ।
‘टोलीले करसम्बन्धी जानकारी गराउनुका साथै व्यवसायीहरुका समस्या बुझ्ने र राजस्व पनि व्यवसाय गरेको स्थानबाटै संकलन गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘यसबाट व्यवसायीका पीरमर्का बुझेर समाधानका लागि पहल गरिने छ भने राजस्व पनि घरघरबाटै संकलन हुने छ।’
टोली परिचालन गरेपछि पुराना बक्यौता अध्ययन गरेर छुट दिन मिल्नेलाई दिने र नयाँ करदातालाई पनि कर बुझाउन जाने झण्झटबाट मुक्त हुने महानगरको विश्वास छ।
महानगरले उद्योग बाणिज्य संघ, चितवन उद्योग संघ तथा सरोकारवाला व्यवसायी तथा सर्वसाधरण संग बृहद् छलफल गरि कर तथा गैरकरको नयाँ दर दर निर्धारण गरेको थियो ।
जस अनुसार कतिपय कर तथा गैरकरका दर घटाइएको र कतिपय समायोजन गरिएको अर्यालले जानकारी दिए। राजस्व संकलनको लक्ष्य पूरा गर्न र करसम्बन्धी जनचेतना पनि जगाउन सकिने गरि महानगरले हरेकवर्ष यस्तो अभियान चलाउँदै आएको छ।
महानगरले राजस्व संकलनका लागि अनलाइन सेवा सबै वडामा विस्तार गरेको छ। सो कार्यमा सहजताका लागि हरेक वडामा अप्टिकल फाइबर बिछ्याएर प्रत्येक वडामा डेडिकेटेड लाइनमार्फत द्रुत गतिको इण्टरनेट जडान गरिएको जनाएको छ।
करदातालाले कर तिरेपछि करदाताको मोवाइलमा के शिर्षकमा कति कर तिरेको हो भन्ने कुराको जानकारीको लागि मोवाइल म्यासेज पद्धतिलाइ कार्यान्वयमा ल्याएको छ।
साथै करदाताले घरबाटै कर तिर्ने पद्धतिको विकास गर्नको लागि अध्ययन समेत सुरु गरेको छ। महानगरका यी गतिविधिले राजस्व तिर्नेहरुलाई सहज हुनुका साथै संकलनमा पनि बृद्धि भएको महानगरको भनाई छ।