– सविता अधिकारी
आफ्नै घरवरिपरिको वातावरण। कुखुरा र हाँस खेलेको, चरेको, दौडेको दृश्य। न घाम, न पानी, न जाडो, न गर्मी। बिहान उठेदेखि साँझ नसुतेसम्म त्यही हाँस, कुखुरासँगको लुकामारीमै बित्छ उनको दैनिकी। साथमा आहारबिहारको व्यवस्थामा खटिनु त छँदैछ। चितवनकाे भरतपुर महानगरपालिका वडा नं. ७ पाँडे घुम्ती निवासी ४४ वर्षीय कुलचन्द्र खनालको दैनिकी हो यो।
घर वरिपरिको ७ कठ्ठा जमिनलाई तारबार गरी व्यवसायिकरूपमा स्थानीय जातका हाँस तथा विभिन्न प्रजातिका कुखुरापालन थालेपछि त्यसैको हेरचाहमा व्यस्त भएका हुन्। ‘म आफू पनि प्रकृति प्रेमी भएकोले यही कर्ममा रमाएको छु,’ उनी भन्छन्, ‘किसानको छोरो भएकोले कृषि क्षेत्रमा धेरथोर अनुभव छँदैछ, त्यसैको उपज हो यो।’
कृषि व्यवसायको लागि उनले कहीँ पनि तालिम लिएका छैनन्। तर, पनि उनले विगत दुई वर्षदेखि परम्परागत पेसालाई पनि फरक सोचका साथ व्यवसयिकरूपमा अंगाल्दै आएका छन्। फाइटर, कडकनाथ, अंकलेश्वर, लौकाटलगायतका कुखुरा उनको फार्ममा देख्न पाइन्छ। हालै मात्र ल्याएका इटालियन र अमेरिकन जातका चल्लाहरू पनि उनको फार्ममा हुर्किँदै छन्। उनले एकदिने चल्लादेखि हुर्किइसकेका सबैखालका कुखुरा र हाँस बिक्री गर्दै आइरहेका छन्।
आफ्नै घरमा रहेको कुखुराबाट सुरू गरेको व्यवसायले अहिले उनलाई पाँचसय हाँस कुखुराका मालिक बनाएको छ। ‘यहीँ वरिपरिका हाँस कुखुरा संकलन गरेर व्यवसाय थालियो,’ उनी भन्छन्, अहिले मेरो फार्मममा पाँचसय जति हाँस, कुखुरा छन्। तर, लगानीको हिसाबै छैन। एकैचोटी ठूलो लगानी गरेको भए लगानी देखिन्थ्यो होला। त्यसो गरिएन।’
हाँस तथा कुखुरालाई आहारको रूपमा गाँउघरमै उत्पादित धान, मकै, गहुँ, पिना, भटमास आदिलाई दाना बनाएर खुवाउने गरेका छन्। त्यतिमात्रै होइन, कुखुराको लागि नरम खालको घाँस पनि राम्रो आहार हो। ‘त्यसैले दानामा घाँस काटेर मसिनो बनाएर खुवाउँछु,’ उनी भन्छन्, ‘रासायनिक पदार्थ मिसिएको खानाले शरीरलाई हानी गर्ने हुँदा उनीहरूको आहारको लागि पनि जैविक पद्दतिमा जोड दिएको हुँ।’
उनले पहिले ब्रोइलर कुखुरा पालेको थिए। मौलाउँदो बिचौलीय र स्थानीयस्तरमा हुने उतारचढावले ब्रोइलर कुखुराबाट घाटा सहनुपरेपछि त्यतिबेला ब्रोइलर राखेको खोर अहिले रित्तिएको छ। ‘उत्पादन र बजारीकरण आफैँले गर्न सके धेरै राम्रो हुँदो रहेछ,’ उनी भन्छन्, ‘नत्र किसान सधै मर्कामा पर्ने रहेछ।’
त्यतिमात्र होइन, एकताका उनले व्यवसायिकरूपमै खरायो पालन पनि गरेका थिए। त्यतिबेला पाँचसय खरायो पालेका उनले बजार अभावका कारण नाफा कमाउन सकेनन्। ‘सोचेजस्तो बजार नहुँदा कतिपय आफन्तलाई दिइयो, कतिपय घरमै खाएर सकाइयो,’ फार्मतिर देखाउँदै उनले भने, ‘केही स्थानीय होटलमा लगे, तपाइँले पनि देखिहाल्नुभयो नि, केही खरायो यतै चरिरा’छन्।’
परिवारमा एक छोरा, श्रीमती र उनी छन्। छोरा डिल्ली यूनिभर्सिटीमा ‘डाटा साइन्स’ पढ्दैछन्। श्रीमती गौरीगञ्ज मा.वि.मा पढाउने भएकोले बिहान–बेलुका श्रीमतीको सहयोग मिल्छ। कुलचन्द्र भने दिनभरी नै फार्ममा हाँस कुखुरासँग खेलिरहन्छन्। सायद हाँस, कुखुरासँग पनि भावनात्मक सम्बन्ध भएर होला उनको स्वर सुन्ने बित्तिकै सबै आफैँतिर दौडिएर आँउछन्।
लामो समय ‘दि युनाइटेड एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट’ (यूएसएआइडी) पनि काम गरे। यूरोपियन युनियनको ‘वर्ल्ड भिजन एड्भोकेसी फोरम’, ‘महिला सशक्तिकरण’ तथा विभिन्न गैरसरकारी संघसंस्थामा रहेर पनि काम गरेको अनुभव उनीसँग छ। तर, २ वर्षयता आफ्नै घरमा ‘शुभ श्री कृषि फर्म’का मालिक बनेका छन्। स्थानीय जातका हाँस, कुखुरा पालेका छन्।
त्यतिमात्र नभई ४ कठ्ठा जमिनमा रहेको माछा पोखरीलाई व्यवस्थित गरी हाँसलाई पनि त्यहीँ राखेर पाल्ने योजना बनाएका छन्, जसले गर्दा माछालाई अक्सिजन पाउनुका साथै माछा र हाँस दुवैलाई फाइदा हने उनी बताउँछन्। पछिल्लो समय मानिसहरूमा फरक स्वादको अनुभव लिन चाहने हुँदा त्यस्ता व्यक्तिलाई ध्यानमा राख्दै कालिज, बट्टाई, टर्की, लौकाट आदि पाल्ने योजना बनाएको उनले सुनाए। ‘फर्मलाई अझै व्यवस्थित र बिस्तार गरी ५ हजारको संख्यामा पाल्ने योजना बनाएको छु,’ उनले सुनाए, ‘कृषि तथा पर्यटन प्रवर्द्वनको लागि नमूना केन्द्र बनाउने सोच छ।’
समस्या र चुनौती
हरेक क्षेत्रमा अवसरसँगै चुनौती पनि उत्तिकै हुन्छन्, जुन कुलचन्द्र खनालले पनि भोग्दै आएका छन्। ‘खासगरी हाँस, कुखरालाई लाग्ने रोग पत्ता लगाउन नसक्दा कहिलेकाहीँ सोचेभन्दा बढी क्षति व्यहोर्नुपर्छ,’ उनी भन्छन्।
न्याउरी मुसा, स्याल, वन बिरालो, चिलजस्ता मांसहरी जीवजन्तुको आक्रमणबाट जोगाउनु पनि यो पेसाको लागि मुख्य समस्या भएको उनी बताउँछन्। ‘मौसमी प्रभावले पनि एकदिने चल्लालाई ठूलो असर पुर्याउँछ,’ उनी भन्छन्, ‘चिसो मौसममा तापक्रम नपुग्ने कारण जोगाउनै गाह्रो हुन्छ। बर्षायाममा दाना पानी खुवाउनै अप्ठ्यारो हुन्छ।’ ‘तर, नेपालमा केही छैन’ भनेर रोजगारको विकल्प खोज्दै विदेश जाने युवाहरूका लागि उनी उदाहरणीय पात्र बनेका छन्।