काठमाडौँ, फागुन ९ । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ। पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रु २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो।
यस अघि २०७३ साउन ११ गते रू २ अर्ब ७५ करोड बराबरको कारोबार भएको थियो। नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी नाघेको यो १९ औं पटक हो।
बिहीवार नेप्सेमा १८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता शेयरको किनबेच भयो। साथै, नेप्से परिसूचक पनि २२ महीना यताकै उच्च १ हजार ४३४ दशमलव ५७ विन्दुमा पुग्यो। यसअघि २०७५ वैशाख ९ गते नेप्से परिसूचक १ हजार ४३८ दशमलव ४९ विन्दु रहेको थियो। त्यसयता, निरन्तर ३ वर्षभन्दा बढी ओरालो लागेको धितोपत्र बजारमा पछिल्लो केही समययता उकाले लाग्ने क्रममा छ।
बिहीवार कारोबारको सबैभन्दा ठूलो अंश शिवम् सिमेन्टले ओगटेको छ। शिवम्को २ लाख ५६ हजार ९०२ कित्ता शेयरको किनबेच हुँदा रू १७ करोड २ लाख १३ हजार बराबरको कारोबार भएको छ। आर्थिक अभियान दैनिकबाट