धनगढी, फागुन ९ । ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।
आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिए।
प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितको आयोजनामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ। सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ।