काठमाडौं, फागुन ९ । शुक्रबारबाट दुई नयाँ फिल्म रिलिज भएका छन्। फिल्म हुन् ‘आमा’ र ‘सेन्टी भाइरस’। देशभर एक अर्कोसँग भिड्न लागेका यी दुई फिल्म मध्य ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्, भने ‘सेन्टी भाइरस’का निर्देशक रामबाबु गुरुङ रहेका छन्।
‘आमा’
‘आमा’ चलचित्र सेन्सर बोर्डबाट युनिभर्सल प्रमाण पत्र पाएको फिल्म हो। स्वदेशसहित अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको यो फिल्म आमा–छोरीबीचको भावनात्मक सम्बन्धको बिषयमा निर्माण भएको छ।
शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ। फिल्मले आमा लिएर हलमा जाने दर्शकका लागि निःशुल्क टिकट उपलब्ध गराउन ब्यवस्था समेत गरेको छ। काठमाडौं र रामेछापमा खिचिएको फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन्। सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो।
‘सेन्टीभाइरस’
‘सेन्टीभाइरस’ पछिल्लो समय समाजसेवीको रुपमा परिचित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेका हुन्। धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ।
हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन्। राजनीतिले एउटा परिवारको सदस्यलाई पार्ने असर फिल्मले देखाउन खोजेको छ।