काठमाडौँ, फागुन ९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित गठन गरेको कार्यदले प्रतिवेदन तयार पारेको छ।
शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो। वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
कार्यदलका सदस्य रावलले प्रतिवेदन तयार भएको जानकारी दिए। ‘सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने। प्रतिवेदनमा के कस्ता सुझाव छन् भन्नेबारे उनले खुलाएनन्। ‘त्यो प्रतिवेदन पार्टीलाई बुझाइने हो,’ उनले भने, ‘अहिले भनिहाल्न उचित होइन।’ नेकपा केन्द्रीय समिति बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो।