चितवन, फागुन ९ । गैंडाका लागि प्रसिद्ध चितवनदेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म शनिबार कार र्याली हुने भएको छ। भरतपुर महानगरपालिकाले भ्रमण बर्षलाई लक्षित गरी आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न कार र्याली आयोजना गरेको हो।
‘भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बध कायम गरिएकोले अनुभव आदानप्रदान र पर्यटन प्रवर्द्धनका लागि लागि कार र्यालीको आयोजना गरेका हौं,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भरतपुरकी मेयर रेणु दाहालले भनिन् ‘यसले पर्यटकिय विकासमा थप टेवा पुर्याउनेछ।’
करिब १ सय ५० कारमा हुने र्यालीमा भरतपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालय तथा संघसंस्थाका प्रतिनिधी र उद्योगी व्यवसायी एवं पत्रकारको सहभागिता रहने उनले बताइन्।
सबै कारमा पर्यटन प्रवर्द्धनका गर्ने स्टीकर, झण्डा र फ्लेक्स राखिने छ। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिकामा २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन्।
प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाले भरिपूर्ण भरतपुरमा मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकीडाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन्।
संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल, पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष-२०२० अन्तर्गत भरतपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धनका गर्न ३२ कृयाकलापको घोषणा गरेको छ।