फागुन १० । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्यन म्युनिख विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले एससी पाडेर्बोर्नलाई ३–२ ले पराजित गरेको हो।
२५ औँ मिनेटमा सर्गेई ग्नाब्रीले गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए। ४४ औँ मिनेटमा डेसिन सर्बिनीले गोल गर्दै पाडेर्बोर्नलाई बराबरीमा ल्याए।
बार्यनका लागि दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। उनले ७० र ८८ औँ मिनेटमा गोल गरेका हुन्। ७५ औँ मिनेटमा मिशेलले पाडेर्बोर्नका लागि गोल गरेका थिए।
लेवान्डोस्कीले सबै प्रतियोगितामा गरेर पछिल्ला १० खेलमा ११ गोल गरेका छन्। उनको दुई गोलको सहयोगमा जित निकालेको बार्यनले अंक तालिकामा दोस्रो स्थानको आरबी लेइप्जिगसँग चार अंकको अग्रता कायम गरेको छ । बार्यनको २३ खेलबाट ४९ तथा आरबीको २२ खेलबाट ४५ अंक छ।