काठमाडौं, फागुन १० । मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ। सुन व्यवसायीहरुका अनुसार फागुन सुन बिक्रीको सिजन भए पनि कारोबारमा ७० प्रतिशतसम्मले गिरावट आएको हो।
‘अरु बेला फागुन महिनामा दैनिक ५० किलोसम्म सुन बिक्री हुन्थ्यो‚’ सुनचाँदी व्यवसायी महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले भने, ‘अहिले मुस्किलले १० देखि १५ किलोसम्म मात्रै बिक्री भइरहेको छ ।’
सुनको भाउ यो साता मात्रै तोलामा १६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ७८ हजार १०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजार हेर्दा मूल्य अझै बढ्ने देखिएको संयोजक शाक्यले बताए।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश एक डलर मूल्य बढ्दा नेपालमा सुन तोलाको ४० रुपैयाँ महँगो हुन्छ। शुक्रबार बेलुकीसम्मको अन्तर्राष्ट्रिय बजार हेर्दा प्रतिऔंश १५ डलरसम्म भाउ बढेकाले आइतबार बजार खुल्दा सुनको भाउ तोलाको ७९ हजार रुपैयाँको हाराहारी पुग्ने अनुमान गरिएको शाक्यले बताए।
चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमै आर्थिक गतिविधि सुस्त भएका कारण सुनको भाउ बढेको हो।




