काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन आज जन्मथलो तेह्रथुम जाँदै छन्। प्रधानमन्त्री ओलीको आज ६९औं जन्मदिन हो।
११ फागुन २००८ मा तेह्रथुमको साविक इवा गाविस सल्ले (हाल आठराई गाउँपालिका ४) मा उनको जन्म भएको थियो। ओलीको बाल्यकाल र किशोरावस्था तेह्रथुममै बितेको थियो। पछि उनको परिवार झापा बसाइँ सरेको हो।
बिक्री गरिसकेको पहाडको पुर्ख्यौली घर बाबुको आग्रहअनुसार प्रधानमन्त्री ओलीले केही समयअघि किनेर मर्मत सम्भार गरेर संरक्षण गरिएको छ। आज प्रधानमन्त्रीले जन्मघरबाटै खुसीयाली साट्ने गरी विशेष कार्यक्रम तय गरिएको नेकपा तेह्रथुमका नेता तथा प्रदेश १ का सांसद तेजमान कन्दङ्वाले देखापढीलाई बताए।
आफ्नो जन्मदिनमा प्रधानमन्त्रीले आठराई गाउँपालिकाभरिका दुई हजार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुका साथै ज्येष्ठ नागरिकलाई कपडा वितरण गरि सम्मान गर्ने छन्।
प्रधानमन्त्री ओलीले तेह्रथुम आठराईदेखि मदन भण्डारीको जन्मथलो ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्ने छन्। त्यस्तै नेपाल बैकको उद्घाटन गर्ने कार्यक्रम छ।
पाँचथरको यासोकमा तमोर नदीबाट निकालिएको लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटनपश्चात प्रधानमन्त्री ११ बजे तेह्रथुम पुग्ने कार्यक्रम रहेको कन्दङ्वाले बताए।