काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार निवासमा ६९औं जन्मदिवस मनाएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बालुवाटार निवास पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिए। उनीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।
प्रधानमन्त्री ओलीलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘बर्थडे केक’ काटिएको थियो।
बर्थडे सेलिब्रेसन गरेलगत्तै प्रधानमन्त्री ओली पाँचथर पुगेका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट उनी पाँचथर आइपुगेको उनका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार प्रधानमन्त्री ओली कुम्मायक गाउँपालिकाको यासोक आइपुगेका हुन्।
प्रधानमन्त्री ओलीले त्यहाँ तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि लगत्तै सोही गाउँपालिकाको विद्युतिकरणको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको भण्डारीले बताए।
पाँचथरको कार्यक्रम सकेर प्रधानमन्त्री ओली तेह्रथुमको आठ्राई गाउँपालिका वडा नम्बर–४ स्थित ‘जन्मघर’ पुग्नेछन्। उनले त्यहाँ आफ्नो ६९औं जन्मोत्सव मनाउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आइतबार ६८ वर्ष पूरा भई ६९ वर्षमा प्रवेश गरेका छन्। वि.स. २००८ साल फागुन ११ गते उनको जन्म भएको हो।