काठमाडौं, फागुन ११ । तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनल खेल आइतबार हुँदैछ।
झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने फाइनलमा मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र सिजनको दोस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको छ। मछिन्द्र थ्री स्टारलाई हराएर एक सातापछि नै अर्को उपाधि जित्न चाहन्छ।
यता, थ्री स्टार भने सिजनको पहिलो उपाधि उचाल्न चाहन्छ। तर, बलियो टिम मछिन्द्रविरुद्ध थ्री स्टारलाई जित निकाल्न भने कठिन चुनौती रहेको छ।
मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २-० ले हराएको थियो।
थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले हराएको थियो।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ। प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन्।
त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने छन्।