काठमाडौं, फागुन ११ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा मनाउने भएका छन्। ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आज बिहान तेह्रथुम गएका छन्। हेलिकप्टर मार्फत प्रधानमन्त्री ओली तेह्रथुम प्रस्थान गरेको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा ओली जन्मेका थिए। त्यहाँ उनको जन्मघर छ। प्रधानमन्त्री ओली गाउँ आउन लागेको अवसरमा आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ।
प्रधानमन्त्री ओलीले आइतार दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएका छन्। कार्यक्रमको तयारीको लागि प्रधानमन्त्रीको एक टोली तेह्रथुममै छन्।
‘छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको प्रधानमन्त्री ज्यूले शिलान्यास गर्ने कार्यक्रम रहेको छ। ओलीका पुराना दौँतरीले उनको जन्मदिनको अवसरमा कार्यक्रम राखेका छन्।
प्रधानमन्त्रीको स्वागतका लागि शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिएको गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। यस अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।