फागुन ११। पछिल्लो समय सामाजिक संजालहरुमा अत्यधिक पिरो खाने ‘च्यालेन्ज’ भाइरल बनिरहेको छ। यसमा युवाहरुले विशेषगरी दुई गुणा पिरो भनिने ‘स्पाइसी राम्यन’ अर्थात् कोरियन ब्रान्डको चाउचाउ खाइरहेका छन्। स्वादमा मिठो र अत्याधिक पिरो यो खानेकुराले चाख्न जोकोही उत्साहित हुने गरेको छन्। तर हप्तौँसम्म पिरो मात्र खाइरहनुले भने स्वास्थ्यमा गम्भीर क्षति पुर्याउन सक्छ।
केही समय अगाडि मात्र मलेशियाका एक व्यक्तिले फेसबुक पोस्टमा आफ्नी पत्नीले प्रत्येक हप्ता अत्यन्तै पिरो राम्यन खाने गरेकाले धेरै पेट दुखेको र अन्त्यमा अस्पताल भर्ना हुनुपरेको लेखेका थिए। सो पोस्टका अनुसार ती व्यक्तिकी पत्नीले पिरो हुँदैन भन्दै एउटा बाउल पूरै राम्यन सुपसहित सिध्याउने गर्थिन्। यसैगरी एक २२ वर्षीय अमेरिकी र्यापरले पनि आफूले लगातार पिरो चिप्स खाएका कारण उपचार गराउनुपरेको बताएका थिए।
उनका अनुसार नियमित अत्याधिक पिरो चिप्स खाइरहनुले उनको पेटभित्रका केही अङ्गमा गम्भीर असर परेपछि उनले रगत बान्ता गरेका हुन्। यसपछि उनले सबैलाई सचेत रहन भन्दै यसबारेमा लेखेका थिए। यस किसिमले स्पाइसी खाने च्यालेन्जको पछाडि लाग्दा बिरामी हुनुपरेको धेरै घटनाहरु छन्।
‘योर्कटेस्ट ल्याबोरेटरिज’ की न्युट्रिसनल थेरापिस्ट एलिसन ओर भन्छिन्, “थोरै मात्रामा पिरो खानुले कुनै समस्या गराउँदैन। तर अधिक मात्रामा पिरो सेवन गर्नु घातक साबित हुन सक्छ। ” यसका कारण अल्सर समेत हुन सक्ने उनी बताउँछिन्। हामीले एकदम पिरो खानेकुरा खाँदा दिमागमा ‘दुखाइ’ भन्ने सिग्नल पुग्ने गर्दछ जसपछि शरीरले कुनै विषाक्त निलेपछिको जस्तो प्रतिक्रिया गर्न सुरु गर्छ। यसमा शरीरका सबै हर्मोनहरुले उक्त पदार्थलाई बाहिर निकाल्ने प्रयास स्वरुप बान्ता वा पखाला गराउने गर्दछन्।
२०१६ मा एक व्यक्तिले खुसार्नी खाने प्रतिस्पर्धामा भाग लिँदा ‘एसोफेगस’ अर्थात खानेकुरालाई मुखबाट पेटसम्म पुर्याउने क्यानल नै प्वाल परेको थियो। उनले लगातार पिरो खाइरहनुले नै घाँटी पोलेर त्यस्तो भएको थियो। त्यस्तै पिरोले आइबीएस, ‘बवेल सिन्ड्रोम’ को लक्षणलाई पनि सक्रिय पार्न सक्छ जसले हामीलाई पिडा र असहज गराउँछ। यसका कारणले मान्छेको दिशामा समस्या हुने गर्दछ। थोरै मात्रामा र कहिलेकाहिँ खाँदा पिरोका विभिन्न फाइदा छन् तर नियमित अत्यन्तै पिरो खानेकुरा सेवन गर्नुले भने अनावश्यक रुपमा स्वास्थ्यमा हानि पुर्याउँछ। एजेन्सी