काठमाडौं, फागुन ११ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादी मध्ये ३४ जनालाई उपस्थित हुन म्याद जारी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग दाबी गरिएका २४ जना र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएका १० जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उप–रजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए।
विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी र खरिदार जीवनाथ पोखरेल लगायतका नाममा म्याद जारी भएको उप–रजिस्ट्रार इन्द्रकुमार खड्काले बताए।
यस्तै, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनी लगायतका प्रतिवादीहरूलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।
ललिता निवासको १३६ रोपनी सरकारी÷सावर्जनक जग्गा हिनामिना गरेको भन्दै अदुअआले गत माघ २२ गते ११० जनालाई कैद सजाय र विगो माग तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको थियो।